धरान । प्रशासनले सुरक्षा दिने भएपछि बैद्य माओवादीले आह्वान गरेको बन्दमा यातायात व्यवसायी तथा मजदुरहरुले सवारी सञ्चालन गर्ने भएका छन् । प्रशासनले कडा सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएपछि मजदुर र व्यवसायीहरुले सवारी सञ्चालन गर्ने भएका हुन् ।
मंसिर ४ गते हुने संविधानसभाको निर्वाचन वहिष्कार गर्ने बताउदै आएको बैद्य माओवादीले निर्वाचन विथोल्न कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म बन्दको आह्वान गरेको थियो । निर्वाचन आउन १० दिन बाकीरहदा सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले शनिबार ईटहरीमा यातायात व्यवसायी, मजदुर तथा जिल्लाका सुरक्षा निकायका प्रतिनिधिहरुलाई संयुक्त भेला बोलाई सुरक्षा रणनीतिबारे जानकारी गराएका थिए ।
प्रजिअ थापाले निर्वाचन देशको अत्यावश्यक महत्वको विषय भएकाले निर्वाचन भाड्न खोज्नेलाई प्रशासनले नछाड्ने र सडकमा काम गर्ने मजदुरहरु र सवारीलाई सुरक्षा दिन प्रशासन प्रतिबद्ध रहेको बताए । भेलामा सुनसरीका प्रहरी प्रमुख एसपी गणेश थापाले जिल्ला भरिको सुरक्षा योजना जानकारी गराउदै सडकमा आउने बन्दकर्तालाई प्रहरीले पक्राउ गरेर कारबाही गर्ने बताए । ईटहरी बटुक दलगणका गणपति कर्णेल श्यामकुमार खड्काले सर्वसाधारणको सुरक्षाका लागि नेपाली सेनालाई समेत जिम्मेवारी आएकाले आफुहरुपनि सुरक्षाका लागि तयार रहेको आस्वस्थ पारे ।
भेलामा यातायात व्यवसायी राष्ट्रिय महासंघका कोशी संयोजक सरोज श्रेष्ठले आफुहरु जुनसुकै बहानामा हुने बन्दको विपक्षमा रहेको बताए करोडौ रुपैया निजि क्षेत्रको लगानी बन्दकै कारण डुबेको बताउदै प्रशासनले सुरक्षा दिने प्रतिबद्धता जनाए आफुहरु बन्दको प्रतिबाद गर्न तयार रहेको बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राईले मजदुरहरु बन्दको अबज्ञा गर्ने काममा अघिरहेको जानकारी गराउदै राज्यले सुरक्षा दिनेकाममा उदासिनता देखाएको र दलहरु समेत बन्दको विरुद्धमा एक हुन नसकेको बताए ।
सचिव राईले भने मजदुरहरुले खाली पेट राखेर अरुको राजनीतिक अभिष्ट पुरा गर्ने बन्द जस्ता अलोकप्रिय काममा अब कसैलाई पनि साथ नदिने बताए । भेलामा पूर्वाञ्चल यातायात व्यवसायी संघका संरक्षक हिरा उदासले प्रशासनले बन्द हड्तालका समय क्षती हुने सवारी साधन तथा मजदुरहरुलाई क्षतीपुर्ति दिने निर्णय गरेपनि राहत सहज उपलव्ध हुननसकेकोमा गुनासो गरे । त्यस्तै नेयास्वमसंगठनका कोशी अध्यक्ष भक्त लामाले मजदुर कुटपिट र सवारी तोडफोड गर्ने बन्दकर्ताहरुलाई विगतमा मुक्ति दिएझै यस पटकको घटनामा अपराधीहरुलाई नछाड्न प्रशासनलाई सुझाएका थिए ।
नेपाल यातायात मजदुर संघका केन्द्रीय उप महासचिव कमल राईले यदी राज्यले सुरक्षाको प्रत्याभूति दिन सके छोटो तथा लामो दुरीका सवै सवारी साधनहरुलाई गणतव्यसम्म पठाईले बताए । भेलामा ट्राफिक प्रहरी कार्यालय पूर्वाञ्चल प्रमुख एसपी पुजा सिंह, अनुसन्धानका डिएसपी सोहनकुमार रौनीयार, शसस्त्रका एसपी कृष्णराज पाठक, यातायात व्यवस्था कार्यालय कोशीका प्रतिनिधि सहभागी थिए ।
भेलामा अञ्चलभरिका यातायात व्यवसायी संघ संस्था तथा यातायात मजदुर सम्त्रध संगठनहरुका प्रतिनिधिहरु सहभागी थिए ।
0 comments:
Post a Comment